Skip to main content

अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डबाट किसान बचत फेरी सम्मानित

एक्सेस ब्राण्ड, एशियाली ऋण महासंघद्वारा प्रादान गरिने गुणस्तर चिन्ह हो । संस्थाले पर्ल्स मापदण्डलाई पूर्ण पालना गरेको, गुणस्तरिय सदस्य सेवा प्रदान गरेको, नीति विधि तथा शु-सासन बमोजिम सञ्चालन र नयाँ नयाँ प्रविधिहरु संस्थाले अवलम्बन गरेको आधारमा ८६ वटा सुचाङ्कहरुबाट मापन गरे पश्चात प्राप्ताङ्कको आधारमा सोही अनुसारको ब्रोन्ज, सिल्भर, गोल्ड वा प्लाटिनम ब्राण्ड एशियाली ऋण महासंघले प्रदान गर्दछ ।

गैँडाकोट नगरपालिका केन्द्रिय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मलेसियाको क्वालालम्पुरमा सदस्यहरुको जीवनस्तर सुधार्नको लागि सकारात्मक प्रभावकारिता भन्ने नाराकासाथ सेप्टेम्वर २७ देखि ३० सम्म संचालन भैरहेको एशियाली ऋण महासंघको सभाबाट २५ देशका प्रतिनिधिहरुको उपस्थितिमा “एक्सेस ब्रोन्ज ब्राण्ड” प्राप्त गरेको छ।

उक्त ब्राण्ड एशियाली ऋण महासंघका अध्यक्ष योङ सिक किमले प्रदान गर्नु भएको थियो भने किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे, उपाध्यक्ष भोजराज पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, संचालक समिति सदस्य तिलक प्रसाद पराजुली, प्रेम सापकोटा, जयलाल पराजुली तथा प्रमुख प्रशासकिय अधिकृत नवराज सापकोटाले एक्सेस ब्रोन्ज ब्राण्ड अंकित प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

उक्त ब्राण्ड आगामी १ वर्षका लागि मान्य हुने छ।  अर्को वर्ष एशियाली ऋण महासंघबाट संस्थाको स्थलगत परिक्षण गर्दा संस्थाको अवस्था सुदृढ देखिएमा पुनः ब्राण्ड नविकरण हुनेछ र सो भन्दा माथिल्लो अवस्थामा संस्था प्रवेश गरेको देखिएमा सिल्भर, गोल्ड वा प्लाटिनम ब्राण्ड प्राप्त गर्नेछ।

४६ हजार भन्दा बढी शेयर सदस्यहरु आबद्ध यो संस्थाले हाल १ अर्ब ५० करोड पुँजी परिचालन गरि १४ वटा सेवाकेन्द्रहरु सञ्चालन गरी १५ वटा कार्यालय मार्फत स्थानीय तहमै शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । शेयर सदस्यहरुको दुःख सुखमा यो संस्थाले आर्थिक रुपमा साथ दिँदैं जन्म देखि मृत्यूसम्मका सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

यस सुख्द अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभेच्छुक, नियामक निकायहरु र सरोकारवालाहरुमा बधाई एवं आभार प्रकट गर्दछौँ ।