प्रेम क्षेत्री, गैडाकोट, ७ भाद्र । किसान बचत तथा ऋण सहकारी संस्थाले आर्थिक संवृद्धिको लागि लघुवित्त कार्यक्रममा महिला सहभागितालाई जोड दिदैं शनिबार किसान लघुवित्त महिला सम्मेलन, २०७६ सम्पन्न गरेको छ । सशक्तीकरण, समृद्धि र नेतृत्व विकासका लागि महिला सहभागिता भन्ने नाराका साथ नारायणी रिसोर्ट, गैंडाकोट २ नारायणी नदि किनारमा भएको सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावल पार्वतीले महिला सहभागिता विस्तारै वढ्दै गएको बताउनुभयो । रावलले आजको युगमा महिलाहरु सवल छन् महिलाहरु सक्षम छन् भनेर सावित गर्ने दिन आएको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म महिला सशक्तिकरण नहुने बताउनुभयो । महिला आर्थिक रुपमा सक्षम हुनका लागि उद्यमी बन्नुपर्ने र त्यसका लागि सहकारी संस्थाहरुले सहयोग गर्नुपर्ने पौडेलको भनाइ थियो । सो कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले हरेक संस्थामा नेतृत्व लिनका लागि महिलाहरु अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गैंडाकोट नगर अध्यक्ष षडानन्द लामिछाने, नेपाली कांग्रेस गैंडाकोट नगर सभापति तारापति खरेल, नेफ्स्कुन सञ्चालक सदस्य शान्ती अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।

पूर्व संविधान सभा सदस्य एवं महिला अधिकारकर्मी पेम्वा लामाले महिला शसक्तीकरण लैङ्गिक समानतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक डा. होमबहादुर वस्नेतले सकरात्मक सोच सम्बन्धी अवधारणाबारे सहजिकरण गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख, वित्तीय विज्ञ प्रमोदराज घिमिरेले लघुवित्त सम्बन्धी र विवेक शर्माले बीमा सम्बन्धी सचेतना कार्यक्रमको अवधारणाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा किसानका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाईटिका जिल्ला सभापति एवम् समाजसेवी मदनभक्त अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका वक्तहरुले किसान साकोसले गरेको यस कार्यको प्रशंसा गर्दै महिला सहभागिता र शसक्तिकरणमा सवै लाग्नुपर्नेमा जोड दिएका थिए ।
लघुवित्त महिला सम्मेलनमा महिलाहरुले उत्पादन गरेका उत्पादनहरु प्रदर्शन तथा विक्री वितरण समेत गरिएको थियो । सहकारीमा आवद्ध महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामान, सिपीका माला, साबुन, कुचोलगायतका विभिन्न सामग्रीहरु प्रदर्शन तथा बिक्री गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरी चालिसेले संस्थाले आफ्ना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वित्तीय साक्षरता, वित्तीय अनुशासन, समूह बचत, लघुकर्जा र विभिन्न सिपमुलक तालिम प्रदान गरिरहेको बताउनुभयो । महिला सशक्तिकरण, नेतृत्व विकास र स्वावलम्बी बनाउने उद्देश्यले सो कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक नविन सापकोटाले संस्थागत जानकारी गराउनुभएको थियो । उहाँले सम्मेलनमा नवलपुर जिल्लाका आफ्ना ४६ हजार भन्दा बढी सदस्यहरुको प्रतिनिधित्व गर्दै ८०० जना भन्दा बढी महिला सदस्यहरुको सहभागिता गराएको बताउनुभयो ।

संस्थाका सचिव अनिल सापकोटाले सहजिकरण गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो । किसान साकोसले सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।