Skip to main content

किसान सकोसद्वारा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । सहजसेवा केन्द्र गैंडाकोट-४मा आयोजना गरिएको एक विशेष कार्यक्रममा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्री अन्तरगत ६ वटा विरामी सुत्ने बेड प्रदान गरिएको हो । गैंडाकोट नगरपालिका वडा न.४ सहज सेवा केन्द्र परिसरमा आयोजित कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसेले गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र राज पौडेललाई स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको थियो ।

पछिल्लो समय कोरोना महामारीका विरुद्धको अभियानमा नगरलाई नगद १ लाख ४१ हजार प्रदान गरेको किसान साकोसले गैंडाकोट नगरका जनतालाई स्वास्थ्य उपचारको क्रममा बेडको अभाव नहोस भन्ने उद्देश्यले ६ वटा बेड प्रदान गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले बताउनु भयो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको महामारी विरुद्धको अभियानमा जुट्न सहज होस भन्ने मनसायले संस्थाको एम्बुलेन्स पनि नगरलाई सञ्चालन गर्न दिईएको अध्यक्ष चालिसेले जानकारीदिनुभयो । संस्थाका अध्यक्ष चालिसेको अध्यक्षतामा भएको सो कार्यक्रममानगरपालिकाका प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी एवं नगर प्रमुख पौडेलले किसान साकोसले नगरको अभियानमा सँधै सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो । त्यसै गरी कार्यक्रममा साकोसका अध्यक्ष चालिसेले संस्थाले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान गर्दैआएको र आगामी दिनमा पनि विशेष भूमिका निर्वाह गर्दै जाने प्रतिवद्वता समेत सोअवसरमा व्यक्त गर्नुभयो । किसान साकोसका पूर्वअध्यक्ष तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, सहज फाउण्डेसनका डिल्ली सिग्देल, साकोसको सहज केन्द्रको व्यवस्थापन समितिका सदस्यहरु, कर्मचारीहरू र प्रत्रकारहरूको उपस्थित रहेको सो कार्यक्रमको केन्द्रका संयोजक तीर्थराजरिमालले सहजीकरण गर्नु भएको थियो ।
– २०७७ साउन २१ 6-Aug-2020