Skip to main content

सौहार्द सेवाकेन्द्र रत्ननगरबाट एकीकृत कारोबार शुभारम्भ

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र विस्तार गर्ने क्रममा रत्ननगरको सौहार्द साकोससँग एकीकरण पश्चात रत्ननगर टाँडी बजारमा सौहार्द सेवाकेन्द्रका रुपमा एकिकृत सेवा शुभारम्भ गरेको छ ।

सोमबार किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद नेपालले विधिवत पुजा गरि सेवा शुभारम्भ गर्नुभएको छ। सो अवसरमा पाँच कन्याहरुलाई बालबचत खाता सञ्चालन गरी पासबुक उपलब्ध गराइएको थियो ।

संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न २४ वटा सहकारीसँग एकीकरण गरी सेवा प्रदान गरेको र  प्रदेश ३, ४ र ५ मा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

किसान साकोस अब २० वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको र संस्थाको कुल कारोबार एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  संस्थाले एम्बुलेन्स सेवासमेत सुचारु गरेको बताउँदै सदस्यहरुलाई नारायणी सामुदायिक हस्पिटलमा १७ प्रतिशत छूट तथा पूर्ण शारिरिक जाँचमा ३० प्रतिशत छुट सुविधालगायत अन्य सदस्यलक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

संस्थाले ३६५ दिन नै सेवा प्रदान गर्दै आएको छ । यस्तै, मोबाइल बैंकिङ, एक लाखसम्मको निःशुल्क दुर्घटना बिमा, निःशुल्क एबीबीएस सेवा,  २०  हजार रुपैयाँको पारिवारिक राहत कोष, आकस्मिक ऋण व्यवस्था, जुनसुकै देशबाट पठाएको रकम तुरुन्त पाइने, नेपालको जुनसुकै ठाउँमा रकम पठाउन र प्राप्त गर्न सकिने, मोबाइल, डिस होम, एडीएसएल, टेलिफोनमा रिचार्ज सुविधा, विद्युत् तथा पानीको भुक्तानी सुविधा, सुत्केरी भेटघाट तथा सदस्य सम्मान कार्यक्रम, लघुवित्त कार्यक्रमलगायतका सेवासमेत सञ्चालन गर्दै आएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा केन्द्रीय समिति र सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, विभिन्न उपसमिति, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।