Skip to main content

किसान साकोसको आयोजनामा लघुवित्त महिला सम्मेलन

 सौराहा अनलाइन | २०७६, ७ भाद्र शनिबार

नवलपुर । नवलपुरको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा किसान लघुवित्त महिला सम्मेलन भएको छ ।
गैंडाकोटमा आयोजित लघुवित्त महिला सम्मेलनमा महिलाहरुले उत्पादन गरेका उत्पादनहरु प्रदर्शन तथा विक्री वितरण समेत गरिएको थियो । सहकारीमा आवद्ध महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामान, सिपीका माला, साबुन, कुचोलगायतका विभिन्न सामग्रीहरु प्रदर्शन तथा बिक्री गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय सभा सदस्य पार्वती रावलले आजको युगमा महिलाहरु सवल छन् महिलाहरु सक्षम छन् भनेर सावित गर्ने दिन आएको बताइन् । महिलाहरु इमान्दार छन्, महिलाहरुले जस्तोसुकै भूमिका पनि सफलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्नेकुरा काम गरेर देखाउनुपर्ने रावलको भनाइ थियो ।
महिलाहरुलाई योग्य र सक्षम बनाउनुपर्ने दायित्व समेत सबैको भएको रावलले बताइन् । महिलाहरुलाई अगाडि बढाउनका लागि सबै तह र तप्कामा रहेका व्यक्तिहरुले सोच्नुपर्ने बेला आएको रावलको भनाइ छ । उत्पादन क्षेत्रमा लाग्दै महिलाहरुको सशक्तिकरण गर्दै सहकारी आन्दोलनबाट महिलाहरु उद्यमी बन्नुपर्नेमा रावलले सुझाव दिइन् ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म महिला सशक्तिकरण नहुने बताए । महिला आर्थिक रुपमा सक्षम हुनका लागि उद्यमी बन्नुपर्ने र त्यसका लागि सहकारी संस्थाहरुले सहयोग गर्नुपर्ने पौडेलको भनाइ थियो ।
सो कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले हरेक संस्थामा नेतृत्व लिनका लागि महिलाहरु अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गैंडाकोट नगर अध्यक्ष षडानन्द लामिछाने, नेपाल कांग्रेस गैंडाकोट नगर कमिटि सभापति तारापति खरेल, नेफ्स्कुन सञ्चालक सदस्य शान्ती अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य राखेका थिए ।