Skip to main content

किसान साकोस रजत महोत्सब बर्ष २०७७ घोषणा तथा लोगो अनावरण एवं सबै सेवाकेन्द्रमा दिप प्रज्जवलन गरी मनाईदै

किसान बचत तथा ऋण सहाकरी संस्था लि. गैंडाकोटले आज किसान साकोस रजत महोत्सब बर्ष २०७७ घोषणा तथा लोगो अनावरण गरेको छ । संस्थाको सभाहलमा आयोजित रजत महोत्सव वर्ष घोषणा कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता, गैंडाकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार एवं संस्थापक सदस्य डिलाराम रिजालको प्रमुख आतिथ्यता र संस्थाका उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले रजत वर्षको लोगोको अनावरण गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन सापकोटाले संस्थाको स्थापना कालदेखिको विकास क्रमलाई सम्झँदै हालसम्मको वित्तीय अवस्था प्रस्तुत गर्नुभएको थियो । संस्थाका कुल ६० हजार सदस्य र दुई अरब भन्दा बढीको पूँजी परिचालन गर्दै सदस्यहरुलाई सेवा प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्माले २५ जनाको समूहबाट शुरु भएको संस्था विधिवत् रुपमा दर्ता हुँदै अहिले नवलपरासी, चितवन र तनहुँको क्षेत्रमा सेवा प्रदान गरेको साथै देश विदेशमा समेत ख्याती प्राप्त गर्न सफल भएकोमा धन्यवाद दिँदै खुशी व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं समाजसेवी मदनभक्त अधिकारी, संस्थाका पूर्व अध्यक्ष एवं नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष माधव प्रसाद गौतम, निर्वतमान अध्यक्ष गोपाल प्रसाद गौतम, लेखा तथा सुपरिवेक्षण संयोजक चिन्तामणि कण्डेलले संस्थाले सदस्यहरुको लागि प्रभावकारी सेवा प्रदान गर्दै आईरहेकोमा धन्यवाद दिँदै हाल विश्वमा आईरहेको कोरोना भाईरसको असर र आगामी दिनमा आउन सक्ने महामारीमामा पनि अझ क्रमशः सेवा स्तरोन्नति गर्दै प्रविधिमा जोड दिनुपर्ने अवस्था आएको बताउनुभयो ।

संस्थाले हालसम्म २५ वटा संस्थासँग एकीकरण गरी एकिकृत सेवा प्रदान गर्दै आएकोमा यस रजत वर्षको कार्यक्रम सम्पन्न गर्नको लागि अध्यक्षको संयोजकत्वमा सञ्चालक समिति र सेवा केन्द्र संयोजकहरु सदस्य तथा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा सदस्य सचिव रहने गरी रजत महोत्सव मूल समारोह समिति गठन गरेको छ । संस्थाले सदस्य स्तरका कार्यक्रम, वाल सदस्यस्तरीय कार्यक्रम, अन्तर सहकारी संस्था, सामाजिक उत्तरदायित्व एवं मानविय कृयाकलाप, संचालक एवं कर्मचारी स्तरीय, विद्यालय स्तरीय, एकिकरण संस्था सम्मान, र स्थापनाकाल सदस्य सम्मान, किसान सहकारी राष्ट्रिय पुरस्कार, स्तम्भ अनावरण, रजत स्मारिका प्रकाशन, ज्येष्ठ, नागरिक, एकल महिला स्तरीय कार्यक्रम, खेलकुद तथा साहित्यीक कार्यक्रम, सहकारी प्रबर्द्धनका अन्य कार्यक्रमहरुसमेत समेटी आगामी दिनमा कार्यक्रम तालिका प्रकाशन गर्ने र अन्य आवश्यक उपसमितिहरु गठन गरिने संस्थाका अध्यक्ष श्रीहरि चालिसेले बताउनुभयो । सामाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

– १५ असार २०७७