Skip to main content

नारायणगढ सेवाकेन्द्र शुभारम्भ

भरतपुर, ११ वैशाख ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१औँ सेवाकेन्द्र नारायणगढको पुतलीबजारमा ‘नारायणगढ सेवाकेन्द्र’ सुरु गरेको छ । उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठद्वारा सेवाकेन्द्रको उद्घाटन रिबन काटेर गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले “सहकारीले बचत र ऋण सँगसँगै उत्पादनमुलक कामलाई प्राथमिकतामा राख्नुपर्ने” बताउनुभयो । “`बैंकले व्यापार र बिनिमयलाई आफ्नो मुख्य अभियान बनाए पनि आफूले हेर्ने हरेक क्षेत्रमा उत्पादनमुखी हुनसकेमा सेवाग्राहीलाई सफलता मिल्नेछ” -श्रेष्ठले भन्नुभयो ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसे कार्यक्रममा किसानले किसानमैत्री बित्तीय कारोबार सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवामुखी कामहरू निरन्तर गर्दै आइरहेको बताउनुभयो ।

नवलपुरको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचतको यो २१ औँ शाखा हो । नवलपुरका ८ वटै स्थानीय निकायमा यसका शाखा र सेवा केन्द्र छन् । त्यसैगरी भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र तनहुँको देवघाट गाउँपालिकामा पनि किसान बचतका सेवा केन्द्रहरू रहेका छन् ।

आगामी ५ वर्षभित्र कुल ४० वटा शाखा मार्फत सेवा प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष चालिसेले बताउनुभयो ।

नारायणगढ शाखाका संयोजक शंकर घिमिरेले किसान बचतले नारायणगढका व्यवसायी र नगरबासीको सेवा गर्न आएकोले सेवा गर्ने मौका दिन अनुरोध गर्नुभयो ।

७० हजार बढी सदस्य रहेका किसान साकोसको ३ अर्ब बराबरको पुँजी छ । किसानले कृषि, व्यापार, पेशा, साना व्यवसाय, लघुउद्यम, शिक्षा, घरजग्गा, हायरपर्चेज, अटो लगायतका क्षेत्रमा ऋण प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा किसान साकोसका सञ्चालक समिति सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन समितिहरु, सिईयो, लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण संस्थाका सचिव अनिल सापकोटाले गर्नु भएको थियो।